
काठमाडौं । दुई मैत्रीपूर्ण म्याच खेल्न थाइल्याण्ड प्रस्थान गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्ड भ्रमण एएफसी महिला एसियन कप छनौटका लागि राम्रो तयारी हुने बताएका छन् ।
सबै खेलाडीहरुले राम्रो अभ्यास र तयारी गरेको प्रशिक्षक तामाङले बताए । अनुभवी डिफेन्डर पुजा रानाले पनि भुटानमा व्यवसायीक फुटबल खेलेर फर्किएको बताउँदै देशबाहिर खेलेका खेलाडीहरुसँगको अनुभवले अन्य खेलाडीहरुलाई पनि आफ्नो क्षमता प्रदर्शनमा सुधार गर्न थप सहयोग पुग्ने उनले बताए ।
प्रशिक्षक तामाङ भन्छन्, “समयअनुसार राम्रो अभ्यास गर्न पायौं । सबै खेलाडीहरु उत्साहित पनि छन् । थाइल्याण्डसँगको खेलमा राम्रो गर्न सक्यौं भने महिला एसियन कप छनौटमा विपक्षी टोलीहरु विरुद्ध पनि दबाब सिर्जना गर्न सक्छौं भन्नेमा आशावादी छौं । थाइल्याण्डसँगको खेल हाम्रा लागि एसियन कप छनौटको उत्कृष्ट तयारी गर्ने अवसर पनि हो ।”
स्मरण रहोस, नेपालले थाइल्याण्डसँग दुई खेल खेल्ने कार्यक्रम छ । जसमा पहिलो खेल ३० मईका दिन अभ्यास खेलका रुपमा खेल्नेछ भने जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारी खेलका रुपमा खेल्नेछ । छनौट प्रतियोगिता अनतर्गत समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल