
काठमाडौं । कुनै समय विश्वकप छनौट खेल्न नेपाल आएको र नेपालले गोल समेत फर्काएको टोली जोर्डन अर्को वर्ष हुने प्रतिष्ठित फिफा विश्वकपका लागि पहिलोपटक छनौट हुन सफल भएको छ ।
विश्वकपको तेस्रो चरणको एसियाली छनौटतर्फ समूह बी मा रहेको जोर्डनले बिहीबार राती आफ्नो नवौं खेलमा ओमानलाई ३–० ले पराजित गरेसँगै सोझै विश्वकपका लागि छनौट हुन सफल भएको हो ।
यो जितपछि जोर्डन ९ खेलबाट १६ अंकसहित समूह बी को कम्तिमा दोस्रो स्थानमा रहेर सोझै विश्वकपमा स्थान बनाउन सफल भएको हो । त्यस्तै सोही समूहमा रहेको दक्षिण कोरिया पनि विश्वकपका लागि छनौट भएको छ ।
बिहीबार नै भएको अर्को खेलमा दक्षिण कोरियाले इराकमाथि २–० को जित हात पार्यो । यो जितपछि ९ खेलबाट १९ अंक जोड्दै शिर्ष स्थानमा रहेको दक्षिण कोरिया विश्वकपका लागि सोझै छनौट भएको हो ।
बिहीबार राती नै सम्पन्न सोही समूहको अर्को खेलमा प्यालेस्टाईनले कुवेतलाई २–० ले हरायो । समूह बी मा १२ अंक जोडेको इराक तेस्रो स्थानमा छ भने १० अंकका साथ ओमान चौथो स्थानमा छ । ९ अंकका साथ प्यालेस्टाइन पाँचौं स्थानमा छ । उता ५ अंक मात्र जोडेको कुवेत पुछारमा छ ।
समूह बी बाट इराक, ओमान र प्यालेस्टाइनको चौथो चरणमा प्रवेश गर्ने र विश्वकपका लागि छनौट हुने सम्भावना कायम छ । कुवेत भने समूह चरणबाटै बाहिरिएको छ ।