समीर तामाङ चम्किँदा सातदोबाटो युथ क्लब ललितपुर सेमिफाइनलमा प्रवेश
गोलनेपाल

उदयपुर। त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको समन्वय, उदयपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोग र गाईघाट फुटबल क्लबको आयोजनामा उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट उदयपुर रंगशालामा जारी त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब ललितपुरले शानदार जित दर्ता गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। आज सम्पन्न रोमाञ्चक क्वाटरफाइनल खेलमा सातदोबाटोले हानामी भरतपुर फुटबल क्लब (बीएफसी) लाई ३–१ को गोल अन्तरले पराजित गरेको हो।

खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको सातदोबाटोका लागि प्रताप राईले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि समीर तामाङले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो गोल थपे भने रोहन कार्कीले तेस्रो गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरे।

उता, पराजित हानामी भरतपुर बीएफसीका लागि सबिन लुङ्गेलीले एक मात्र सान्त्वना गोल फर्काए पनि टोलीलाई जित दिलाउन त्यो पर्याप्त हुन सकेन।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सातदोबाटो युथ क्लब ललितपुरका गोलकर्ता समीर तामाङ खेलको 'म्यान अफ द म्याच' (प्लेयर अफ द म्याच) घोषित भए।

 

Post Comments