
सोनापुर । उत्कृष्ट जितका साथ मेमोरी युवा क्लब, सुनसरी यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा मेमोरीले श्री हरैचा मोरङ स्पोर्टस क्लब, मोरङलाई ४–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
मेमोरीको जितमा कोमल खवासले दुई गोल गर्दा युगेन राई र सिषम चौधरीले समान १–१ गोल गरे । उता पराजित श्री हरैचाका लागि रसिक श्रेष्ठले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
खेलमा मेमोरीका कोमल खवास म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असार १८ गतेको पहिलो सेमिफाइनल खेल तालतलैया फुटबल क्लब, इटहरी र एकम्बा फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालय, सोनापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २१ गतेका दिन हुनेछ ।