भैरहवा । मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाको आयोजनामा यही असार १५ गते आइतबारदेखि शुरु हुन गईरहेको प्रथम मायादेवी कप सिक्स ए साईड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
भैरहवा स्थित होटल यात्रीमा सम्पन्न पत्रकार सम्मेलनमा प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक गिरिष शाही ठकुरीले जानकारी दिए । सिक्स ए साईड प्रतियोगिता भए तापनि प्रतियोगितामा स्थानीयस्तरका राम्रा क्लब र खेलाडीहरुको सहभागिता रहने संयोजक शाही ठकुरीले बताए ।
त्यस्तै आयोजक क्लबका अध्इक्ष कृष्ण बहादुर गुरुङ्गले स्थानीय खेलाडीहरुलाई स्थानीय फुटबल मै रमाउन र अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । साथै प्रतियोगितालाई आउने दिनमा अझै फरक रुपमा भव्य बनाउने योजना रहेको समेत सुनाए ।
सोही अवसरमा उपस्थित प्रतियोगिताका प्रायोजक मध्ये एक सिद्धार्थनगर, भैरहवाको परिचित होटल यात्रीका सञ्चालकहरु कुमार पौडेल, मिना पौडेल तथा एक्सपर्ट ऐजुकेशनका सञ्चालक मनोज घिमिरेले प्रतियोगिता सफलताको शुभकामना दिए । प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै उनीहरुले खेलकुद क्षेत्रमा आफूहरुको सहयोग, हौसला र प्रोत्साहन निरन्तर रहने प्रतिक्रिया दिए ।
मायादेवी क्यान्सर केयर सेन्टर, मायादेवीको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।