AFC/FIFA जापानलाई हराउँदै उत्तर कोरिया बन्यो च्याम्पियन, दक्षिण कोरिया तेस्रो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । गत संस्करणको हारको बदला लिंदै उत्तर कोरियाले आइतबार सम्पन्न एएफसी यु–१७ महिला एसियन कपको उपाधि जितेको छ ।

फाइनलमा साविक विजेता जापानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उत्तर कोरिया चौथो पटक च्याम्पियन बनेको हो । उत्तर कोरियाका लागि ४६औं मिनटमा जुन–इल चुङले गरेको एक मात्र गोल टोलीलाई विजेता बनाउन निर्णायक गोल बन्यो ।

यो जितसँगै उत्तर कोरियाले गत संस्करणको फाइनलमा जापानसँग बेहोरेको २–१ को हारको बदला लिन पनि सफल भएको छ । त्यति मात्र नभई उत्तर कोरियाले प्रतियोगिताको उपाधि चारपटक जित्दै सर्वाधिक उपाधि जित्ने सूचीमा जापानसँग बराबरी पनि गरेको छ ।

त्यस्तै तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा दक्षिण कोरियाले चीनलाई २–१ ले हरायो । यो नतिजासँगै यसै वर्ष डोमिनिकन रिपब्लिकमा हुने फिफा यु–१७ महिला विश्वकपमा एसियाबाट सहभागि हुने तीन टोलीहरुको पनि टुंगो लागेको छ ।

जसमा विजेता उत्तर कोरिया, उपविजेता जापान र तेस्रो स्थान हासिल गरेको दक्षिण एसियालीले विश्व फुटबलको महाभिडन्तमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

Post Comments