News रुपन्देही जिल्ला ए डिभिजन लिग शुरु
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आइतबारदेखि रुपन्देही जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–११ देवीनगर स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा ए डिभिजनमा बढुवा भएको नव प्रवेशी टोली सिम्रिक युवा क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

खेलमा गोर्खा ब्वाईजका लागि मनिष पुन मगरले पेनाल्टीबाट गोल गरेका थिए भने सिम्रिकका लागि केशव नेपालीले बराबरी गोल फर्काएका थिए । खेलमा गोर्खा ब्वाईजका मनिष पुन मगर म्यान अफ द म्याच चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले गरेका थिए । सो अवसर एन्फाका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो ।

लिगमा कुल ९ टोलीहरुले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्ने खेल संयोजक मुकेश कुँवरले बताए । साथै उनले अहिलेलाई पहिलो चरणको खेलतालिका मात्र सार्वजनिक गरिएको बताए । पहिलो चरणको खेल पश्चात दोस्रो चरणको खेलतालिका सार्वजनिक गरिने संयोजक कुँवरले बताए ।

लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।

Post Comments