
भोजपुर । आइतबारदेखि शुरु भएको आठौं मेयर भोजपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब, भारतले विजयी शुरुवात गरेको छ ।
भोजपुर रंगशालामा भएको उदघाटन खेलमा जर्जियनले आयोजक भोजपुर जिल्ला फुटबल संघलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । जर्जियनको जितमा बसन्त राई, नरजंग लेप्चा र सिद्धान्त क्षेत्रीले गोल गरे । पराजित भोजपुरका लागि भने सन्तोष तामाङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा जर्जियनका बसन्त राई म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै जर्जियन सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १५ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल सलहेश युवा क्लब, सिराहा र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले लगायतले संयुक्त रुपमा गरेका थिए ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको विशेष सहयोगमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपवजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।