News तेस्रो लहान मेयर गोल्डकप शुरु, चात्या सा को विजयी शुरुवात
गोलनेपाल

लहान । सोमबारदेखि शुरु भएको तेस्रो लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा चात्या सा पुस्तकालय, दमक, झापाले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा चात्या सा ले एपिएफ, पथलैया, बारालाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । चात्या सा का लागि प्रबिन राई र उमेश याङमाले गोल गरे । खेलमा चात्या सा कै प्रबिन राई म्यान अफ दि म्याच बने ।

यो जितसँगै बाई पाएर सिधै क्वाटरफाइनल खेलेको चात्या सा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १२ गते मंगलबारको खेल आर.एफ.सी., हरिवन, सर्लाही र नमो बुद्ध युथ क्लब, सप्तरीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लहान नगरपालिका, सिरहाका मेयर महेश प्रसाद चौधरीले गरेका थिए ।

हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments