News बीएफसी भरतपुर म्याक्स टाइगर तेस्रो बेलका गोल्डकपमा सेमिफाइनलमा
गोलनेपाल

बेलका । म्याक्स टाइगर तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा घरेलु टोली ब्रदरहुड फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै चितवनको बीएफसी भरतपुर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै बीएफसी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ।

उदयपुर जिल्लाको बेलका नगरपालिका–६ स्थित लेखाली खेलमैदानमा आज सम्पन्न खेलमा बीएफसीले सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।

बीएफसीको जितमा सबिन लुङ्गेली मगरले ह्याट्रिक पूरा गरे भने सृजन राज गौतमले एक गोल गरे। सबिनले गोल गर्दै बीएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा २–० को अग्रता बनाएको बीएफसीले दोस्रो हाफमा थप दुई गोल गर्दै ४–० को शानदार जित निकालेको हो।

प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा सबिन लुङ्गेली मगरले उत्कृष्ट प्रदर्शन गरे। घरेलु टोलीले पनि दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे तापनि बीएफसीको बलियो रक्षापंक्ति पार गर्न सकेन। खेलको प्लेयर अफ द म्याच ह्याट्रिककर्ता सबिन लुङ्गेली मगर घोषित भए।

प्रतियोगिताअन्तर्गत भोलि हुने पहिलो सेमिफाइनल खेलमा एस स्टार क्लब मधुमल्ला, मोरङले एलेक्स सिटी फुटबल क्लब बेलबारी, मोरङसँग प्रतिस्पर्धा गर्नेछ।

 

Post Comments