
शनिश्चरे एफसीलाई टाईब्रेकरमा पराजित गर्दै बगान युथ क्लब कचनकवल झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै बगानले फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबसँगको भेट पक्का गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा बगानले शनिश्चरेलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो । निर्धारितसमय १–१ गोलको बराबरी भएपछि निर्णयका लागि टाईब्रेकर रोजिएको थियो । बगानको जितका लागि टाईब्रेकरमा मिलन राई, अविशेक गुरुङ्ग, संजय लिम्बु र मौसम सुब्बाले गोल गरे । दिवस उराउको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो । त्यस्तै, शनिश्चरेको तर्फबाट शौरव लिम्बु, दिवाकर चौधरी र हेमन लिम्बुले मात्रै गोल गरे । मोहित गुरुङ्गको प्रहार क्रसबारमा लागेर फर्कियो । शनिश्चरेका देबेन्द्र तामाङ्गको प्रहार बगानका गोररक्षक देवेन भुजेलले सेभ गरे ।
प्रतिस्पर्धात्मक खेलमा बगानका अभिषेक गुरुङ्गले ५९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शनिश्चरेले खेलको इन्जुरी समयमा आत्माघाती गोलको उपहार पाएर खेल बराबरीको स्थितीमा पुगेको थियो । खेलको प्लेयर अफ द म्याच बगानका गोलरक्षक देवेन भुजेल घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । फाइनल खेल आगामी मंगलबार हुनेछ ।
बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए । प्रतियोगिताको बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने आयोजक क्लब कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।