
दियोबजार । संघर्षपुर्ण जितका साथ सैनामैना कलेज अफ हस्पिटलिटी, सैनामैना जारी १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा सैनामैना कलेजले बलियो प्रतिद्वन्द्वी फर्साटिकर युवा क्लब, फर्साटिकरलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ सैनामैना कलेजका लागि मिलन आलेले गोल गरे भने फर्साटिकरका लागि सागर पुन मगरले गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने सैनामैना कलेजले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा सैनामैना कलेजका गोलरक्षक अनुप राना म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत फागुन १२ गते सोमबारको दोस्रो सेमिफाइनल खेल आयोजक हिमालय फुटबल क्लब, कञ्चन र योङ ब्वाईज फुटबल क्लब, देवदहबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।