
गाईघाट । सहज जित निकाल्दै यहाँ सम्पन्न स्व. लालशेर राई स्मृति २४औं मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १० ले जितेको छ ।
उदयपुर रंगशालामा भएको फाइनलमा वार्ड नम्बर १० ले वार्ड नम्बर १२ लाई ४–१ को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । वार्ड नम्बर १० का लागि अर्जुन राना मगरले दुई गोल गरे भने सनम राई र लक्की राईले एक–एक गोल गरे । पराजित वार्ड नम्बर १२ का लागि भने रवि शंकर चौधरीले एक मात्र गोल गरेका थिए ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको वार्ड नम्बर १० ले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता वार्ड नम्बर १२ ले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
वार्ड नम्बर १० का दिपक मगर फाइनल खेलको म्यान अफ दि म्याच बने । उनले त्यसवापत नगद १ हजार र मेडल प्राप्त गरे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर १० कै उमेश थापा चुनिए ।
उत्कृष्ट डिफेन्डर वार्ड नम्बर १२ का अनुराग चौधरी बन्दा उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर १२ कै युवराज थापा बने । सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर १० का अर्जुन राना मगरले हात पार्दा उत्कृष्ट प्रशिक्षक पनि वार्ड नम्बर १० कै दिपेन्द्र दहाल घोषित भए । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने वार्ड नम्बर १० का सनम राई घोषित भए । उनले त्यसवापत नगद २ हजार र ट्रफी प्राप्त गरे ।