
काठमाडौं । रोमाञ्चक र संघर्षपुर्ण जितका साथ संकटा फुटबल क्लब जारी सभापति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । दशरथ रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा संकटा ८–७ ले विजयी बन्यो ।
खेलमा संकटाका गोलरक्षक तथा कप्तान दिप कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले नगद १५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत माघ १५ गते मंगलबारको दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश र न्युरोडटिम (एनआरटी) भिड्ने छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २६ लाख हात पार्नेछ भने उपविजेताले १३ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १७ गतेका दिन हुनेछ ।