
बसन्तपुर । गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज फुटबल क्लब, रत्ननगरले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा अफ्रिकी टोली माबोयी फुटबल क्लब, बुर्किना फासोलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले हराउँदै प्याराडाईज माडी गोल्डकपको च्याम्पियन बनेको हो ।
बसन्तपुर खेलमैदानमा भएको फाइनल भिडन्तमा प्याराडाईजका लागि मौसम सुब्बा र दिपेश आले मगरले समान २–२ गोल गरे । प्याराडाईजका दिपेश आले मगर फाइनल खेलको म्यान अफ दि म्याच बने ।
विजेता बनेको प्याराडाईजले उपाधिसहित नगद ३ लाख हात पार्दा उपविजेता अफ्रिकी टोली माबोयीले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार, चितवनको आयोजनामा माघ ६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।