
बेसीशहर । उत्कृष्ट जितका साथ विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको एक मात्र खेलमा एपिएफले सामना युथ क्लब, तनहुँलाई शून्यका विरुद्ध ५ गोलको अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । त्रिवेणी रंगशालामा भएको खेलमा एपिएफका लागि प्रदिप लामाले ह्याट्रिक गरे ।
प्रदिपले खेलको १२, ३० र ५५औं मिनटमा शुरुवाती तीन गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै ६०औं मिनटमा सुजन कुमार पुलामीले चौथो गोल गरे भने ७६औं मिनटमा सुमन श्रेष्ठले पाँचौं गोल गर्दै एपिएफको जित पक्का गरे ।
एपिएफले अब क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत पुष १६ गते ११ः३० बजे हुने पहिलो खेलमा बुद्ध युवा क्लब, भोटेबडार र मस्र्याङ्दी युथ क्लब, बेसीशहर बीच हुनेछ भने अभिषेक चर्च, रजहर र संकटा फुटबल क्लब, काठमाडौं भिड्ने आयोजकले जानकारी दियो ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।