News न्यु रोड टिम (एनआरटी) झापा कपको फाइनलमा
रमेश समदर्शी

बिर्तामोड । न्यु रोड टिम (एनआरटी)का गोलरक्षक विशाल सुनारले टाइब्रेकरमा राष्ट्रिय जागृति क्लब इटहरीको दुई वटा प्रहार रोकेपछि झापा कपको फाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडमा जारी भएको झापा कपको आज भएको अन्तिम सेमिफाइनलमा इटहरीलाई रोकेर जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग फाइनलमा भेट पक्का गरेको छ ।

एनआरटीले इटहरी टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गरेको हो । खेलको ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए ।

इटहरीका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो । घम्साघम्सीपूर्ण खेलमा रेफ्री प्रज्ज्वल क्षेत्रीले आठवटा पहेँलो कार्ड देखाएका थिए । जागृतिका चार र एनआरटीका चार खेलाडीले पहेँलो कार्ड पाएका हुन् । खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

Post Comments