News चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
रमेश समदर्शी

डोमालाल रंगशालामा गतवर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड यहाँ जारी झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो ।

गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक निशान राना अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४०औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफको थपिएको समयमा चर्चले थप एक गोल थप्यो । कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको अधिकांश समय बल नियन्त्रण गर्न सफल चर्चले गोल गर्ने थप असवर सदुपयोग गर्न सकेन । ३२औँ मिनेटमा चर्चका समिर तामाङले गरेको हेडर बार नजिकैबाट बाहिरियो । ४७औँ मिनेटमा विदेशी खेलाडी अबयोमीले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

खेलको अतिरिक्त समयमा सनम भुजेलले गरेको कडा प्रहार गोल बारमा लागेर फर्कियो । गोर्खा ब्वाइजले ६५औँ मिनेटमा पाएको अवसर गुमायो । सुजित बुढाथोकीले प्रहार गरेको लङ रेन्जर सट बाहिरियो । ८२औँ मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार फ्रेममा पर्न सकेन । तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन । गोर्खा ब्वाइजका अधिकांश खेलाडीले खेल अवधिभर बल कन्ट्रोल गर्न सकेनन् ।

गोर्खा ब्वाइजको स्ट्राइकिङ लाइन फितलो देखिएको थियो । खेलाडीबीच तालमेल नमिल्दा गोर्खा ब्वाइज पहिलो खेलमै पराजित भएर घर फर्किएको छ । खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजका डिका भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । बिहीबारको खेल एनआरटी क्लब काठमाडौँ र काठमााडौँको जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

Post Comments