
सुपौली । छोटो समय मै चर्चा र सफलता हासिल गर्न सफल रुपन्देहीको समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा शुक्रबारदेखि स्व. बस बहादुर तथा दिलकुमारी शेरपुन्जा पुन स्मृति तेस्रो कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
तिलोत्तमा–१४, सुपौली स्थित आयोजक क्लब कै खेलमैदानमा भएको उद्घाटन खेलमा लिस्नु युवा क्लब, कोटिहवाले विजयी शुरुवात गर्यो । खेलमा लिस्नुले बिग बुद्ध क्लब, सुनवल, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
लिस्नुको जितमा अफ्रिकी खेलाडी कार्लोस सामले एक मात्र गोल गरे । यद्यपि खेलको म्यान अफ दि म्याच भने पराजित बिग बुद्धका रिजन गुरुङ घोषित भए । यो जितसँगै लिस्नु क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर ८ गते शनिबार दोस्रो प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र न्यु युथ युनियन क्लब, पाल्पा बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर देवी चौधरी, तिलोत्तमा–१४ का वार्ड अध्यक्ष अस्विन पौडेल, आयोजक क्लबका अध्यक्ष अबिर पुन पाईजा, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले संयुक्त रुपमा गरेका थिए ।
सोही अवसरमा मुख्य प्रायोजक स्व. बस बहादुर र स्व. दिलकुमारी शेरपुन्जा पुनका परिवारहरु श्रीमती कुमारी शेरपुन्जा, छोरा–बुहारीहरु हिरु प्रसाद शेरपुन्जा–माया पुन, सोमराज शेरपुन्जा–सरिता गुरुङ, मन्जुल शेरपुन्जा–चन्देवी पुन, सञ्जय शेरपुन्जा–स्मिता तामाङ, नातिबुहारी अर्जुन शेरपुन्जा–रन्जु लिम्बु लगायतको पनि उपस्थिति रहेको थियो ।
यही मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।