News चार गोल गर्दै अन्तिम चारमा बिर्तामोड
गोलनेपाल

राजारानी । सहज जितका साथ बिर्तामोड युनाइटेड फुटबल क्लब, झापा यहाँ जारी ११औं गोर्खा रारा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा बिर्तामोडले रियल स्टार युथ क्लब, हेटौडालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

राजारानी खेलमैदानमा भएको खेलमा बिर्तामोडका लागि आशिष चापागाईं र योगेश गुरुङ्गले दुई–दुई गोल गरे । खेलमा बिर्तामोडका आशिष चापागाईं म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत जेठ १२ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल भोजपुर जिल्ला फुटबल संघ, भोजपुर र आयोजक रारा फुटबल क्लब, राजारानी बीच हुने आयोजकले जानकारी दियो ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १६ गतेका दिन हुनेछ ।

Post Comments