News मकवानपुर गोल्डकपको फाइनलमा एनआरटी
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । कठिन जितका साथ न्युरोडटिम (एनआरटी) जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलाम गोल्डकप पछि एनआरटीको यो लगातार दोस्रो फाइनल समेत हो ।

बुधबार भएको पहिलो सेमिफाइनलमा एनआरटीले रारा फुटबल क्लब, धनकुटामाथि जित हात पार्न पेनाल्टी शुटआउटमा कठिन संघर्ष गर्नुपर्यो । गौरीटार रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

पेनाल्टी शुटआउटमा दुवै टोलीबाट १९–१९ प्रहार भएको थियो । मकवानपुरको इतिहास मै यति लामो पेनाल्टी प्रहार पहिलोपटक भएको थियो । जसमा एनआरटीले रारामाथि १७–१६ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

पेनाल्टीमा विपक्षीको दुई प्रहार जोगाएका एनआरटीका गोलरक्षक प्रिसो खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एपिएफ फुटबल क्लब र बागमती युवा क्लब, सर्लाही बीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments