News झरना दोस्रो समपुर्ण कपको सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ झरनाले दश खेलाडीमा सिमित हुन पुगेको साविक विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि तिलोत्तमा–१४ स्थित समपुर्ण खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको शुरुवाततिरै कमल भट्टराईको गोलबाट अग्रता बनाएको नवयुवाले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन ।

खेलको अन्तिमतिर नवयुवाका रक्षक अमन थापाले विपक्षी खेलाडीलाई बक्स भित्र फल गरेपछि झरनाले पेनाल्टीको अवसर पाएको थियो भने फल गरेका नवयुवाका अमन थापाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो ।

सोही पेनाल्टी अवसरलाई झरनाका प्रबिन थापाले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि खेल १–१ गोलको रोमाञ्चक बराबरीमा आएको थियो । त्यसपछि टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा झरनाले नवयुवामाथि ३–२ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

खेलमा झरनाका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १८ गते सोमबारको दोस्रो क्वाटरफाइनल आयोजक समपुर्ण युवा क्लब, सुपौली र देवदह ब्वाईज, देवदह बीच हुने आयोजकले जानकारी दियो ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments