News न्यु राईज दोस्रो समपुर्ण कपको क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । प्रभावशाली जितका साथ न्यु राईज युथ क्लब, बभनी यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु राईजले सिम्रिक युवा क्लब, बुटवललाई ५–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । न्यु राईजका लागि इन्द्र भण्डारी र बिनोद भट्टराईले २–२ गोल गरे । थप एक गोल भने सिम्रिकका पुरन भण्डारीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता पराजित सिम्रिकका लागि मोहन थापाले एक मात्र सान्त्वना गोल फर्काए । तर, टोलीलाई खेलमा फर्काउन सकेनन् । खेलमा न्यु राईजका इन्द्र भण्डारी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत मंसिर १६ गते शनिबारको अन्तिम प्रिक्वाटरफाइनल खेल सञ्जिवनी युवा क्लब, बागधुरा र भेट्रान्स रुपन्देही–११ बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments