News झापा गाउँपालिका प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको नकआउट चरणमा
गोलनेपाल

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा हारका बाबजुद झापा गाउँपालिका समूह ख को विजेता बनेको हो । आज भएको समूह ख को पाँचौँ खेलमा छिमेकी नगरपालिका कनकाईसँग हार व्यहोरे पनि यसअघिको दुई जित र गोल अन्तरका आधारमा झापा गाउँपालिका समूह विजेता बनेको हो ।

कनकाईले लिग चरणमा पहिलो जित दर्ता गरे पनि नकआउटमा प्रवेश गर्न सकेन । यसअघि कनकाई नगरपालिकाले दुई हार व्यहोरेको थियो । आजको खेलमा कनकाईले झापालाई १–० गोल अन्तरले हराएको हो । कनकाईका सन्दीप रसाइलीले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, आज भएको दोस्रो तथा समूह ख को लिग चरणको अन्तिम खेलमा गौरादह नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै गौरादह पनि नकआउट चरणमा प्रवेश गरेको छ । गौरादहसँगको हारसँगै समूह ख मा रहेको भद्रपुर ब्लेजर्स भने लिग चरणबाटै बाहिरिएको छ । आजको खेलमा भद्रपुर ब्लेजर्समाथि जित्नैपर्ने दबाबमा रहेको गौरादहले आफू पछि परेको नतिजा उल्ट्याउँदै नकआउटमा नाम लेखाएको हो ।

खेलको पहिलो हाफमा भद्रपुर ब्लेजर्सले २–० को अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नतिजा गौरादहलाई सुम्पिनु परेको थियो । दोस्रो हाफमा खेलमा फर्किएको गौरादहले भद्रपुर ब्लेजर्सलाई निक्कै नै दबाबमा राखेको थियो । गौरादहले भद्रपुर ब्लेजर्सलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २६ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका निकेश गुरुङ र ३१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले गोल गरेका थिए ।

तर, गौरादहका लागि ४५ औँ मिनेटमा पासाङ लामा र ६३ औँ र ६९ औँ मिनेटमा अमन ताजपुरियाले गोल फर्काएपछि भद्रपुर ब्लेजर्स लिग चरणबाटै बाहिरिएको छ । लिग चरणमा गौरादहले दुई खेल जित्यो भने एक खेलका हार्यो । खेलको प्लेयर अफ द म्याच भएका गौरादहका अमन ताजपुरियाले नगद दुई हजार र ट्रफी िपाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दिपेश ढकाल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सौजन्यकर्ता सञ्जय पोखरेल र केशवकुमार मैनालीले प्रदान गरेका थिए ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

Post Comments