News बाँसबारी क्लबले पायो प्रायोजक
गोलनेपाल

काठमाडौं । यसै महिनादेखि शुरु हुन गईरहेको शहिद स्मारक बी डिभिजन लिग खेल्ने तयारीमा रहेको बाँसबारी क्लबले प्रायोजक पाएको छ ।

क्लबले जनाएअनुसार अराउन्ड द हिमालयज प्रा.लि.सँग बाँसबारीले प्रायोजन सम्झौता गरेको हो । सम्झौता एक बर्षका लागि गरिएको बताइएको छ । साथै यो प्रायोजन वापत अराउन्ड द हिमालयजले क्लबलाई १० लाख रुपैयाँ प्रदान गर्नेछ ।

क्लबले प्रायोजन सम्झौता अवधिभर सहभागिता जनाउने हरेक प्रतियोगिताहरुमा प्रायोजकको लोगो अं्रकित जर्सी लगाउने सम्झौता भएको क्लबका महासचिव रमेश कुमार कार्कीले जानकारी दिए ।

स्मरण रहोस, वि.सं. २०३७ सालमा स्थापित भएर निरन्तर फुटबलमा सक्रिय रहेको बाँसबारीले यस वर्ष बी डिभिजन लिग खेल्नकै लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी युगल किशोर राईले प्रशिक्षकमा नियुक्त गरेको थियो ।

बी डिभिजन खेल्न कै लागि क्लबले आवश्यक तयारी गर्नुका साथै खेलाडीहरु अनुबन्ध प्रक्रिया पनि लगभग सकिएको महासचिव कार्कीले जानकारी दिए । उता यो प्रायोजनसँगै लिगमा अब क्लबको नाम अराउन्ड द हिमालयज बाँसबारी क्लब हुनेछ ।

सो अवसरमा अराउन्ड द हिमालयजका तर्फबाट सुदामा कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा लगायतको उपस्थिति रहेको थियो ।

Post Comments