
काठमाडौं । छिमेकी राष्ट्र भारत अर्को वर्ष अष्ट्रेलियामा हुने प्रतिष्ठित एएफसी महिला एसियन कपका लागि छनौट भएको छ । समूह चरणतर्फ शतप्रतिशत जितका साथ भारत फाइनल चरणका लागि छनौट भएको हो ।
समूह बी मा रहेको भारतले समूह चरणको आफ्नो अन्तिम तथा निर्णायक खेलमा बलियो घरेलु टोली थाइल्याण्डलाई २–१ ले पराजित गर्दै एसियन कपका लागि छनौट हुन सफल भएको हो ।
यो नतिजापछि ४ खेलबाट १२ अंकका साथ भारत शिर्ष स्थानमा रह्यो । थाइल्याण्ड भने ९ अंकका साथ दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । समान ४–४ अंक जोडेका टिमोर लिस्टे र इराक क्रमशः तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन मंगोलियामा पुछारमा रह्यो । समूह बी बाट भारत बाहेक अन्य सबै टोली बाहिरिएका छन् ।
स्मरण रहोस, दक्षिण एसियाबाट एएफसी महिला एसियन कपका लागि छनौट हुने भारत दोस्रो टोली बनेको छ । यसअघि अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेश समूह सी बाट छनौट भईसकेको छ ।