News सहज जितका साथ शिर्ष स्थानमा फर्कियो जावलाखेल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबारदेखि शुरु भएको १७औं चरणको एक मात्र शुरुवाती खेलमा सहज जित निकाल्दै जावलाखेल युथ क्लब लिगतालिकको शिर्ष स्थानमा फर्किएको छ ।

च्यासल स्टेडियममा सम्पन्न खेलमा जावलाखेलले फ्रेण्डस क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको हो । जावलाखेलका लागि खेलको २०औं मिनटमा राहुलले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

त्यसपछि एन्कोटो मासोबीले जावलाखेलका लागि दुई गोल थपे । २६औं मिनटमा उनले क्लबको अग्रता दोब्बर पारे भने दोस्रो हाफतर्फ ६३औं मिनटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३–० को स्थितिमा ल्याए ।

उता खेलको ८०औं मिनटमा श्याम केपछाकीले फ्रेण्डसका लागि एक गोल फर्काए तापनि टोलीलई खेलमा फर्काउन अबेर भईस्केको थियो । गोल खाए लगतै खेलको इन्जुरी समयमा फोडे फोफनाले जावलाखेलका लागि चौथो गोल गर्दै ललितपुर डर्बीमा जावलाखेलको उत्कृष्ट जित पक्का गरे ।

यो नतिजापछि १७ खेलबाट ३० अंक जोडेको जावलाखेल शिर्ष स्थानमा उक्लेको छ । त्यस्तै चर्च ब्वाईज युनाइटेड पनि समान ३० अंकका साथ दोस्रो स्थानमा छ । यद्यपि चर्च ब्वाईजले एक खेल कम खेलेको छ । उता पराजित फ्रेण्डस भने १९ अंकका साथ ११औं स्थानमा संघर्षरत छ ।

Post Comments