News याङनाम गोल्डकप: पाँचथर प्रहरी र शान्तिदीप याङनाम गोल्डकप २०७९ को क्वाटरफाइनलमा
रमेश समदर्शी

जिल्ला प्रहरी कार्यालय पाँचथर र फिदिम १३ को शान्तिदीप युवा कलब प्रथम याङनाम गोल्डकप २०७९ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको खेलमा मनापजुम यलम्बर युवा क्लब फिदिम ११ लाई पराजित गर्दै प्रहरी टोलीले क्वाटरफाइनलमा स्थान बनाएको हो । प्रहरीले ३-० गोलअन्तरमा मनापजुमलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

प्रहरीका लागि सन्तोष रम्तेलले २ गोल गरे भने थप गोल जसहाङ लिम्बूले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा प्रहरीका लागि सन्तोष रम्तेलले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले २४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै प्रहरीका लागि अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफकै ३०औँ मिनेटमा जसहाङ लिम्बूले थप गोल गरेर ३-० गोलको अग्रता दिलाएका हुन् । दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

खेलको म्यान अफ दी म्याच प्रहरीका मनोज सुब्बा घोषित भए । उनले नगद एक हजार प्राप्त गरे ।

यसैगरी, पहिलो खेलमा शान्तिदीप युवा क्लबले वाकओभर पाउँदै क्वाटरफाइनलमा प्रवेश पाएको हो । स्पर्धी याङवरकको नुमाफुङ युवा क्लब थर्पु अनुपस्थित भएपछि खेल नियमानुसार आयोजक याङनाम फुटबल क्लबले शान्तिदीपलाई वाकओभर दिएको हो ।

१२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ । प्रतियोगिताको गोलरक्षक, रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३(३ हजारसहित ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार ५ सय पाउने छ । भोलि मंगलबार पनि दुई वटा खेल हुनेछन् ।

पहिलो खेल ब्वाइज युनियन क्लब फालेलुङले हिलिहाङको सिर्जना युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा कुम्मायक गाउँपालिकाको टिम र आनिसाक्थिम युवा क्लब वसुमसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments