ललितपुर जिल्ला ललितपुर महानगरपालिका सुनाकोथीमा अवस्थित सुनाकोथी स्पोर्टिङ क्लबको 7A side फुट्सल मैदानमा लक्की स्टार युथ क्लबको आयोजनामा जारी ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय रातो मछिन्द्रनाथ कप लिग कम नकआउट प्रतियोगिता शनिबार भव्यताका साथ सम्पन्न भएको छ।
ललितपुर जिल्लाभित्रका सहभागी ४१ विद्यालयहरूलाई १६ वटा ग्रुपमा विभाजन गरी हरेक समूहको विजेता र उपविजेता प्रतियोगिताको राउन्ड अफ ३२ यानिकी नकआउट चरणमा प्रवेश गर्ने तालिका रहेको थियो।
शनिबार भएको उपाधि भिडन्तमा दीपमाला माध्यमिक विद्यालयलाई २-१ गोल अन्तरले पराजित गरी ब्लोम नेपाल विद्यालय प्रतियोगिताको विजेता बन्न सफल भयो। विजेता बनेसँगै ब्लोम नेपालले नगद रु.५० हजार रुपैयाँसहित आकर्षक रातो मछिन्द्रनाथ रनिङ कप साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपाधि हात पारेसँगै ब्लोम नेपाल विद्यालयले प्राप्त गरेको रकमको ५०% (२५०००) रुपैयाँ रसुवाको भोटेकोशीमा आकस्मिक बाढी आएर प्रभावित भएको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ। दीपमालालाई पराजित गर्ने क्रममा ब्लोम नेपालको लागि आइज्याक शाही र अनुभव रसाइलीले समान एक एक गोल गरेका थिए। उक्त खेलमा निर्णायक गोल गरेका अनुभव रसाइली प्लेयर अफ द म्याच चुनिएका हुन्। उता पराजित भएको टोली दीपमालाको लागि समराज तामाङले शानदार गोल गरेका थिए। उक्त गोल आफ्नो टिमको लागि पर्याप्त हुन नसक्दा अन्य बाँकी कुनै खेलाडीले गोल गर्न सकेनन्।
उपविजेता बनेको दीपमाला माध्यमिक विद्यालयले नगद रु.२५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी प्रतियोगितामा तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धात्मक खेलमा सहिद धर्मभक्त विद्यालयले मञ्जुश्री इङ्लिस बोर्डिङ स्कुललाई ६-० गोलको फराकिलो नतिजामा पराजित गरी उपाधि हात पार्यो। तेस्रो बनेको सहिद धर्मभक्त विद्यालयले नगद रु.१५००० सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी प्रतियोगिताभरकै अनुशासित टोलीको रूपमा मञ्जुश्री इङ्लिस बोर्डिङ विद्यालयलाई ट्रफी सहित सम्मान गरिएको छ।
ब्लोम नेपालका आइज्याक शाही खेल अवधिभर कुल १० गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल हुदा ब्लोम नेपालकै अमित रावल उत्कृष्ट गोल रक्षक घोषित भए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपविजेता बनेको दीपमाला माध्यमिक विद्यालयका कप्तान रेशम थिङ चुनिएका हुन्। उनले आफ्नो टोलीलाई उपाधि यात्रामा शानदार प्रदर्शन गरी फाइनलसम्मको यात्रा तय गराएका थिए।