काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ तर्फ अर्जेन्टिना कै समूह जे मा रहेको अष्ट्रियाले पनि प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
बुधबार सम्पन्न खेलमा अष्ट्रियाले पहिलोपटक सहभागि एसियाली राष्ट्र जोर्डनलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलमा शुरुवाती अग्रता पनि अष्ट्रियाले नै लिएको थियो । खेलको २१औं मिनटमा रोमानो क्रिष्टियनले अष्ट्रियाका लागि पहिलो गोल गरे । पहिलो हाफसम्म १–० कै अग्रता कायम रह्यो ।
दोस्रो हाफको ५०औं मिनटमा अली अलवानले जोर्डनका लागि सनसनीपूर्ण बराबरी गोल फर्काए । यद्यपि त्यो बराबरी गोलको नतिजा धेरैबेर टिक्न सकेन । ७७औं मिनटमा याजन अल–अरबले आत्मघाती गोल गर्दा अष्ट्रियाले खेलमा २–१ को अग्रता बनायो । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा मार्को अर्नौटोभिकले पेनाल्टीबाट तेस्रो गोल गर्दै अष्ट्रियाको जित पक्का गरे ।
स्मरण रहोस, बुधबार बिहान नै सम्पन्न समूह जे तर्फको पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० को अन्तरले हराएको थियो ।
समूह जे तर्फको दोस्रो खेलमा अब जुन २२ तारीखका दिन अर्जेन्टिनाले अष्ट्रियाको सामना गर्नेछ भने सोही दिन अल्जेरियाले जोर्डनसँग खेल्नेछ ।