किसानबारी । पूर्वी पाल्पाको पर्यटकीय नगरका रुपमा स्थापित रामपुरमा आइतबारदेखि प्रतिष्ठित वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
रामपुर–७, किसानबारी स्थित प्रस्तावित ज्योतिपुञ्ज खेलमैदानमा भएको उद्घाटन खेलमा अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरले न्यु युथ युनियन क्लब, तानसेन, पाल्पालाई ३–२ ले हराउँदै विजयी शुरुवात गर्यो ।
अभिषेक चर्चको जितमा खेलम आलेले दुई गोल गर्दा थप एक गोल बिक्रम तामाङको नाममा रह्यो । उता न्यु युथ युनियनका लागि सरोज दर्लामी र चन्दन दासले गोल फर्काएका थिए ।
खेलमा अभिषेक चर्चका लागि दुई गोल गरेका खेम आले म्यान अफ दि म्याच बन्दा अभिषेक चर्च कै सुजित बुढाथोकी रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच घोषित भए । साथै यो जितसँगै अभिषेक चर्च क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत असोज २७ गते सोमबारको खेल सुर्यपुर फुटबल क्लब, चितवन र होराइजन क्लब, वालिङ, स्याङ्जा बीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ, आयोजक क्लबा अध्यक्ष सुन्दर राना लगायतले संयुक्त रुपमा गरेका थिए ।
ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।

