News यस सिजन ए डिभिजन लिग हुन्छ 'No If No But': एन्फा महासचिव राई
गोलनेपाल

काठमाडौं । लामो प्रतीक्षापछि यस वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले लिग आयोजना गर्ने तयारी केहि महिना अगाडीबाट तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिएका छन् ।

“यस सिजन ए डिभिजन लिग नहुने भन्ने प्रश्नै उठ्दैन। एन्फा पूर्ण तयारीमा छ र आवश्यक आन्तरिक गृहकार्य सुरु भइसकेको छ,” राईले भने। उनका अनुसार लिगलाई व्यवस्थित, आकर्षक र प्रतिस्पर्धात्मक बनाउन संघले विभिन्न तयारीलाई गति दिइसकेको छ।

सोही अनुरुप एन्फाले हालै लिगको लोगो र ट्रफी डिजाइनका लागि सूचना जारी गरेको छ। यस अन्तर्गत लोगो विजेताले ५० हजार रुपैयाँ र ट्रफी डिजाइन विजेताले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ।

एएफसीले नेपालको लिगलाई अझ व्यवस्थित बनाउन लिग डेभलपमेन्ट वर्कसप सञ्चालन गरिरहेको छ। भइरहेका वर्कसपमार्फत प्रतियोगिता व्यवस्थापन र संरचना सुधारबारे छलफल हुँदै आएको छ।

एन्फाले यसअघि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार ए डिभिजन लिग आगामी पुस १ गतेदेखि सञ्चालन गर्ने प्रारम्भिक योजना बनाइएको छ। यद्यपि, क्लबहरूसँग हुने अन्तिम छलफल र अन्तराष्ट्रिय प्रतियोगिताको क्यालेन्डर हेरेर पछि मिति केही दिन अगाडि–पछि समायोजन गरेर तोकिने एन्फाले जनाएको छ। यद्धपि सोहि मितिमा लिग सुरु गर्न लागिपरेको छ ।

‘ए’ डिभिजनमा बढुवा हुने टोलीको टुंगो नलाग्नु, कारणले शीर्ष डिभिजन लिग नियमित हुन सकेको थिएन। तर यसपटक भने संघले नयाँ रणनीति र जोशका साथ अघि बढिरहेको छ।

ए–डिभिजन क्लबहरुलाई बोलाएर प्रतियोगिता सञ्चालनसम्बन्धी विस्तृत छलफल गर्ने तयारी थालेको जनाएको छ।

महासचिव राईका अनुसार यस वर्षको लिगलाई अझ व्यापक बनाउन उपत्यका बाहिर पनि खेल आयोजना गर्ने तयारी भइरहेको छ। “फुटबललाई देशव्यापी बनाउन उपत्यका बाहिर खेल खेलाउने सम्भावना छ। यसबारे अन्तिम निर्णय तयारी अनुसार हुनेछ,” उनले भने।

उनका अनुसार एन्फाले युथ फुटबल र महिला फुटबललाई निरन्तर अघि बढाइरहेको छ। “हामीले उमेर समूह र महिला प्रतियोगितालाई नियमित रुपमा गरिरहेका छौं। अब ए डिभिजन लिग पनि निरन्तर सुरु हुँदैछ,” राईले थपे।

Post Comments