
बेलबारी । बिट्टु तामाङले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि फराकिलो जितका साथ सतिसाले युनियन केराबारी जारी माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेलबारी–१ स्थित नक्सलबारी खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ सतिसाले युनियनले रारा फुटबल क्लब, राजारानी धनकुटालाई ८–० को फराकिलो अन्तरले हरायो ।
खेल शुरु भएको दोस्रो मिनटमै रोमन लिम्बुको गोलबाट सतिसालेले खेलमा अग्रता लिएको थियो । त्यसको चार मिनट लगतै बिट्टु तामाङले दोस्रो गोल गरे । ४०औं मिनटमा दोर्जे तामाङले गोल गर्दै सतिसालेको अग्रता ३–० पुर्याए ।
खेलमा विपक्षी विरुद्ध निरीह देखिएको राराले ४९औं मिनटमा आत्मघाती गोल खान पुगेको थियो । सुर्य लिम्बुले आत्मघाती गोल गर्दा रारा ४–० स्थितिमा पछि पर्न पुग्यो । तर राराको गोल खाने क्रम भने रोकिएन ।
६५औं मिनटमा तिर्थ बस्नतेले सतिसालेका लागि पाँचौं गोल गरे । त्यसको पाँच मिनट लगतै बिट्टु तामाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे । दश मिनटको अन्तरालमा तीन गोल गरेको सतिसालेका लागि ७४औं मिनटमा नितीस लिम्बुले सातौं गोल गरे ।
त्यस्तै ७९औं मिनटमा बिट्टु तामाङले नै व्यक्तिगत तेस्रो तथा टोलीका लागि आठौं गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक समेत पूरा गरे । बिट्टु तामाङ नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई उद्योग वाणिज्य संघ, बेलबारीका उपाध्यक्ष माधव थापाले पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत पुष २७ गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल एपिएफ, सुनसरी र बिराटनगर एफसी, बिराटनगरबीच हुने आयोजकले जनाएको छ । नेपाल मगर संघ, बेलबारी, नक्सलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार हात पार्नेछ । फाइनल खेल आउँदो माघ १ गतेका दिन हुनेछ ।