
भैरहवा । झिनो अन्तरको जितका साथ यहाँ सम्पन्न ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा फर्साटिकरले साविक विजेता देवदह ब्वाईजलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । फर्साटिकरका लागि आकाश थापा मगरले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता देवदह ब्वाईजले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको निर्णायक गोलकर्ता फर्साटिकरका आकाश थापा मगर म्यान अफ दि म्याच चुनिए ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक फर्साटिकरका कप्तान सुभान्कर जिसी बन्दा उत्कृष्ट डिफेन्डर देवदहका बिकास राई बने । उत्कृष्ट मिडफिल्डर र फरवार्ड क्रमशः फर्साटिकर कै आकाश थापा मगर र गणेश हमाल चुनिए । सबैले जनही ४–४ हजार र ट्रफी हात पारे ।
त्यसैगरी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने देवदह ब्वाईजका कप्तान नर थापा मगर घोषित भए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ, आयोजक माछापुच्छ्रे क्लबका अध्यक्ष युवराज थापा, खेल संयोजक दिपक थापा (कुमार), व्यवस्थापक अनुप थापा लगायतले पुरस्कृत गरेका थिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रुपन्देही, नवलपरासीका गरी कुल १२ टोलीहरु सहभागि थिए । प्रतियोगितालाई आउने दिनमा पनि भव्य बनाउने आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए । साथै उनले सहयोगी सबै शुभेच्छुकहरुप्रति आभार र धन्यवाद समेत प्रकट गरे ।