News हिमालयन शेर्पालाई १५औं जितपुर सिमरा गोल्डकपको उपाधि
गोलनेपाल

जितपुरसिमरा । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न १५औं जितपुरसिमरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लब, काठमाडौंले जितेको छ ।

शनिबार राती सम्पन्न उपाधि भिडन्तमा शेर्पाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई ४–१ को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

सिमरा रंगशालामा भएको उपाधि भिडन्तमा शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले दुई गोल गरे भने रोबर्ट खोङजो र समिरराज थोकरले एक–एक गोल गरे । पराजित मच्छिन्द्रका लागि भने रञ्जन पुनले एक मात्र गोल फर्काए ।

विजेता बनेको शेर्पाले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित्त बुझायो । शेर्पाका अमित तामाङ फाइनल खेलको प्लेयर अफ दि म्याच बने । उनले त्यसवापत नगद १० हजार प्राप्त गरे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक शेर्पा कै विवश चौधरी चुनिए । उत्कृष्ट प्रशिक्षक पनि शेर्पा कै प्रज्वल प्रताप क्षेत्री बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार शेर्पाका रोबर्ट खोङजोले हात पारे । उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार प्राप्त गरे ।

त्यस्तै उदियमान खेलाडी आयोजक नव जनजागृतिका सेरव लो तामाङले हात पारे । उनले त्यसवापत नगद १५ हजार प्राप्त गरे । सलहेश युवा क्लब, सिरहा फेयर प्ले टिम बन्यो । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी शेर्पा कै रोबर्ट खोङजो घोषित भए । उनले त्यसवापत एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण प्रसाद श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments