
जितपुरसिमरा । यहाँ जारी १५औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा हिमालयन शेर्पा क्लब, काठमाडौं र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं भिड्ने भएका छन् ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा शेर्पाले आयोजक नव जनजागृति युवा क्लब, सिमराको चुनौति २–१ ले पन्छाउँदै फाइनलमा प्रवेश गरेपछि शेर्पाको उपाधि भिडन्त मच्छिन्द्रसँग पक्का भएको हो ।
सिमरा रंगशालामा भएको खेलमा शेर्पाका लागि रोबर्ट खोङजो र समिरराज थोकरले गोल गरे । पराजित नव जनजागृतिका लागि भने युवराज खड्काले एक मात्र गोल फर्काएका थिए ।
खेलमा शेर्पाका रोबर्ट खोङजो प्लेयर अफ दि म्याच घोषित भए । अब २९ चैत्र शुक्रबारका दिन हुने फाइनलमा हिमालयन शेर्पा र मच्छिन्द्र उपाधिका लागि भिड्ने छन् ।
नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।