News झापा एफ.सी. र हिमालयन बैंक बीच नेपाल सुपर लिग २०२५ को लागी औपचारिक बैंक साझेदारी
गोलनेपाल

झापा फुटबल क्लबले नेपाल सुपर लिग (NSL) २०२५ को लागि हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा घोषणा गरेको छ। यस साझेदारीले क्लबको वित्तीय र व्यवस्थापकीय पक्षलाई अझ मजबुत बनाउनेछ, जसले झापा एफ.सी.लाई आगामी लिगको तयारीमा थप बलियो बनाउने छ।

नेपालको एक प्रमुख र विश्वसनीय वित्तीय संस्थाका रूपमा, हिमालयन बैंकले लामो समयदेखि खेलकुद र युवा विकासमा योगदान पुर्याउँदै आएको छ। झापा एफ.सी.सँगको सहकार्यमार्फत बैंकले नेपालको फुटबलको विकासमा मात्र होइन, समुदाय र क्षेत्रीय विकासमा पनि आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

"हामी हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। यस बैंकको समर्थन र सहकार्यले हाम्रो क्लबलाई अझ मजबुत बनाउनेछ। साथै, यस साझेदारीले वित्तीय सुदृढीकरण गर्दै, हाम्रो प्रयासलाई नयाँ उचाईमा पुर्याउनेछ," झापा एफ.सी. का महासचिव, सुजन गौतमले भने।

हिमालयन बैंकका मुख्य कार्यकारी अधिकृत, अशोक राणाले भने, "झापा एफ.सी. जस्ता प्रमुख क्लबसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको छ। नेपालमा फुटबलको विकासमा हामीले निरन्तर योगदान दिँदै आएका छौं, र यो साझेदारीले खेलाडीलाई थप अवसरहरू दिनेछ। हामी झापा एफ.सी.लाई नेपाल सुपर लिग २०२५ मा सफलता प्राप्त होस् भन्ने शुभकामना दिन्छौं।"

यस रणनीतिक साझेदारीसँगै, झापा एफ.सी. र हिमालयन बैंक नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गर्न, खेल भावना अभिवृद्धि गर्न, र आगामी पुस्ताका फुटबल खेलाडीहरूलाई प्रोत्साहित गर्ने लक्ष्यमा प्रतिबद्ध छन्।

Post Comments