News अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
सुरज राना मगर

मुर्गिया । अभिषेक चर्च फुटबल क्लब, नवलपुर रुपन्देहीको मुर्गियामा जारी सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलतर्फ अभिषेक चर्चले घरेलु टोली मुर्गिया फुटबल क्लब, सैनामैनालाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

अभिषेक चर्चको जितमा दुवै गोल अफ्रिकी खेलाडी मार्टिन्सले गरे । टोलीको जितमा नायक बनेका अभिषेक चर्चका गोलकर्ता मार्टिन्स प्लेयर अफ दि म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फागुन २६ गते सोमबारको दोस्रो सेमिफाइनल खेल महाबिर क्लब, काठमाडौं र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments