News नेपाल पुलिस महिला गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

इलाम । एन्फा वुमन्स लिगमा दोस्रो स्थान बनाएको नेपाल पुलिस क्लब काठमाडौँ इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ठूलो टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा वुमन्स लिगको छैटौ स्थानको बागमती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा रोक्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।

बागमतीलाई ३-१ गोलअन्तरले टाइब्रेकरमा रोक्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो । यसअघि भएको ८० मिनेटको निर्धारित खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो ।

जसमा नेपाल पुलिसका लागि परिवर्तित खेलाडी रेविका पाण्डे, विर्सना चौधरी र गोलरक्षक उषा नाथले गोल गरिन् भने कप्तान निरु थापाको प्रहार आकासिएको थियो ।

यस्तै, बागमतीका लागि सलोनी रानामगरको प्रहारमात्र गोलमा परिणत भएको थियो । सेमिहाङमा लिम्बूको प्रहार बाहिरिँदा विष्णुमाया बल र अन्जली खवासको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले रोकेकी थिइन् ।

दुई प्रहार रोकेकी पुलिसकी गोलरक्षक उषा नाथ प्लेयर अफ दी म्याच बनिन् । उनलाई इलाम नगरपालिकाकी नगर उपप्रमुख विष्णु दाहालले नगद ५ हजार र ट्रफी प्रदान गरिन् ।

भोलि त्रिभुवन आर्मी फुटबल क्लबले मानेभञ्ज्याङ एफसी दार्जीलिङ भारतसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । ओएसिस क्लब इलामले आयोजना गरेको प्रतियोगितामा भारतका दुई टिम, विभागीय तीन टिम तथा इलाम, ओखलढुंगा र सर्लाहीको टिम सहभागी छन् ।

फागुन २४ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २ लाख र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments