
कटारी । रोमाञ्चक जित निकाल्दै यहाँ सम्पन्न पाँचौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन ब्वाईज क्लब, काठमाडौंले जितेको छ ।
फाइनलमा च्याम्पियन ब्वाईजले सलहेश युवा क्लब, सिराहालाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । च्याम्पियन ब्वाईजका लागि सौर्य राउत र हेमन लिम्बुले गोल गरे भने सलहेशका लागि कुलदिप कार्कीले गोल गरेका थिए ।
विजेता बनेको च्याम्पियन ब्वाईजले उपाधिसहित नगद ३ लाख हात पार्दा उपविजेता सलहेशले १ लाख ५० हजार सहित ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक च्याम्पियन ब्वाईजका चरी लिम्बु बन्दा उत्कृष्ट डिफेन्डर धिरेन क्षेत्री बने । उदियमान खेलाडी कटारी–११ का रितिक तामाङ बन्दा प्रतियोगिताभरि कुल ५ गोल गरेका सौर्य राउत सर्वाधिक गोलकर्ता बने । प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने सलहेशका शिशिर लेखी घोषित भए ।
नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल र भुटानका गरी कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।