
एक साताअघि सम्पन्न लिम्बूनी ठूली स्मृति कप फुटबल प्रतियोगिताको आय व्यय आज सार्वजनिक गरिएको छ ।
झापाको अर्जुनधारा ३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंगशालामा माघ २७ गतेदेखि फागुन ४ गतेसम्म च्यारिटी युथ क्लबद्वारा सञ्चालित प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको हो ।
आन्तरिक लेखा समितिका संयोजक अर्जुन निरौलाका अनुसार प्रतियोगिता सम्पन्न गर्न १५ लाख ९८ हजार ९८२ रुपैयाँ खर्च भएको छ । उक्त खर्च अमेरिकामा बस्दै आएका बाबी सुब्बाले प्रायोजन गरेका हुन् । दिवंगत आमा आइतमाया सुब्बा सुहाङ (लिम्बूनी ठूली)लाई झापा र खुदुनाबारीबासीमाझ जिवन्त राख्न काइँला छोरा बाबी र उनका परिवारले शीर्ष प्रायोजन गरेर प्रतियोगिता आयोजना गरिएको हो । लिम्बूनी ठूली आफ्ना परिवार भुटानबाट लखेटिएपछि भुटानी शरणार्थी शिविर खुदुनाबारीमा आएका थिए । पुनर्वासका क्रममा अमेरिका पुगेकी लिम्बूनी ठूलीको गतवर्ष निधन भएपछि उनको परिवारले स्मृति कपको प्रायोजन गरेको हो ।
यसैबीच, कैदले प्राकृतिक रंगशालाको स्तरोन्नतिका लागि अमेरिकामा रहेका आरबी खड्काबाट १ लाख ५० हजार र लाल थापाबाट १० हजार ५० रुपैयाँ प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगिता मुल आयोजक समितिका संयोजक सूर्य इम्बुङको अध्यक्षता तथा शीर्ष प्रायोजक बाबी सुब्बाको प्रमुख आतिथ्यमा भएको हिसाब सार्वजनिक कार्यक्रममा स्थानीय अगुवा हरि वाग्ले, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारीका अध्यक्ष जीवन भण्डारी, आयोजक क्लबका अध्यक्ष लिलाबल्लभ खतिवडाले आफ्ना भनाइ राखेका थिए ।
खेल संयोजक तथा टिम व्यवस्थापक दिपक दुलालले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजकका युवराज चापागाईले गरेका थिए । उक्त प्रतियोगिताको उपाधि पथरी ११ एफसीले चुम्दै नगद १ लाख ५५ हजार ५५५ प्राप्त गरेको थियो ।