News एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन
गोलनेपाल

काठमाडौं । एक्सेल्सियर कपको ११औं संस्करणमा ६ टिमले उपाधि जितेका छन् । बास्केटबलमा २ तथा ब्वाइज फुटसल आयोजक द एक्सेल्सियर स्कुलसहित ४ टिम च्याम्पियन बने ।

स्वयम्भूस्थित आयोजक एक्सेल्सियरको मैदानमा भएको ब्वाइज फुटसलको यु–९ फाइनलमा राई स्कुलले संस्कृति इन्टरनेसनललाई २–१ गोलले पराजित गर्यो । राई स्कुलका रेहानकुमार श्रेष्ठ र आभास रेग्मीले गोल गरे ।

यु–११ को उपाधि भिडन्तमा स्वस्तिश्री गुरुकुलले एक्सेल्सियरलाई १–० गोलले हरायो । अर्नव भट्टराईले निर्णायक गोल गरे । यु–१४ को फाइनलमा एक्सेल्सियरले विद्यावाणी पाठशालालाई ४–२ गोलले पाखा लगायो । एक्सेल्सियरका कृष पाण्डेले ह्याट्रिक गरे भने साहिलराज थापाले १ गोल थपे । विद्यावाणीका अभिग्न कडरिया र प्रज्ज्वल गौतमले गोल गरे ।

यु–१६ को फाइनलमा रिब्सले बोधीसत्वमाथि ६–० को सहज जित दर्ता गर्यो । रिब्सका श्रमन गुरुङ, आयुश केसी, आर्यान केसी, रिसन लामा, ब्लेस गुरुङ र भिनिथ श्रेष्ठले समान १–१ गोल गरे ।

यु–९ मा संस्कृतिका अर्सभ खड्का, यु–११ मा एक्सेल्सियरका ओजस पाठक, यु–१४ मा एक्सेल्सियरका साहिलराज थापा र यु–१६ मा रिब्स श्रमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । यु–९ मा राई स्कुलका इसक राणा, यु–११ मा स्वस्तिश्रीका समिर बोहरा, यु–१४ मा एक्सेल्सियरका अन्शुमननन्द वैद्य र यु–१६ मा रिब्सका आरुस केसी उत्कृष्ट गोलरक्षक चुनिए । यु–९ मा जोन डेवी, यु–११ मा बोधी वृक्ष, यु–१४ मा काठमाडौं लिङकन र यु–१६ मा एलआरआई ‘इमर्जिङ टिम’ बने ।

त्यस्तै बास्केटबलको सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गल्र्समा स्वर्णिम पहिलो भए । फुटसलको यु–९ मा राई स्कुल, यु–११ मा स्वस्तिश्री गुरुकुल, यु–१४ मा एक्सेल्सियर र यु–१६ रिब्सले उपाधि जिते ।

सिनियर ब्वाइजमा भ्याली भ्यूका गणेशबहादुर विष्ट तथा गल्र्समा स्वर्णिमकी नितिशा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बेबी एन्जल तथा सिनियर गल्र्समा राई स्कुल ‘इमर्जिङ टिम’ बने ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत, एक्सेल्सियरकी चेयरम्यान शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसी, एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दसदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा १६ तथा गल्र्समा १२ टिमले सहभागिता जनाएको एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जनाएका छन् । फुटसलको यु–९ मा ९, यु–११ मा १४ तथा यु–१४ र यु–१६ मा समान १२–१२ टिमले भाग लिएका थिए । यु–९ को प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो ।

Post Comments