
बुटवल । समपुर्ण युवा क्लब, सुपौली जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ समपुर्णले रामनगर युवा परिवार, बुटवलमाथि टाईब्रेकरमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
बुटवल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । जसमा समपुर्णले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा समपुर्णका गोलरक्षक राजन राना मगर म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन ३ गते शनिबारको चौथो तथा अन्तिमक्वाटरफाइनल खेल सियारी गाउँपालिका र द एक्स लिजेण्ड बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।