News केराबारीलाई दोस्रो स्व.कृष्ण प्रसाद भट्टराई स्मृति कपको उपाधि
गोलनेपाल

इटहरी । झिनो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कप कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि केराबारी फुटबल क्लब, मोरङले जितेको छ ।

फाइनलमा केराबारीले लोहरुङ्ग फुटबल क्लब, संखुवासभालाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । खेलको १५औं मिनटमा एलेक्सले गरेको एक मात्र गोल केराबारीलाई च्याम्पियन बनाउन निर्णायक गोल बन्यो ।

विजेता बनेको केराबारीले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्यो भने उपविजेता लोहरुङ्गले १ लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच पनि केराबारीका निर्णायक गोलकर्ता एलेक्स बने । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक केराबारीका रोशन कार्की चुनिए । उत्कृष्ट डिफेन्डर पनि केराबारीका सुजन चौधरी बन्दा उत्कृष्ट मिडफिल्डर लोहरुङ्गका हेमन लिम्बु चुनिए । उत्कृष्ट फरवार्ड पनि लोहरुङ्ग कै जिवन लोहरुङ्ग बने ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक केराबारीका प्रितम लिम्बु घोषित भए । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे । प्रतियोगिताको उदियमान खेलाडी आयोजक द योङ ब्रदर्शका सलोन जिमी बने । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार भन केराबारीका नितेश लिम्बुले हात पारे । नितेशले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने प्रबेश बस्नेत घोषित भए । उनले त्यसवापत नगद १५ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी उद्योग, वाणिज्य तथा कृषि मन्त्री खगेन हाङ्गनाम लगायतले पुरस्कृत गरे ।

द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा गत माघ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments