
पोखरा । संघर्षपुर्ण जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, काठमाडौं जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाईजले बिहीबार न्युरोडटिम (एनआरटी) लाई सडन डेथमा हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।
पोखरा रंगशालामा भएको खेलमा २४औं मिनटमा रिचार्ड विलसनको गोलबाट एनआरटीले खेलमा अग्रता लिएको थियो । तर, दोस्रो हाफतर्फ ६३औं मिनटमा नबिन लामाले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काएका थिए ।
निर्धारित समय र अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिनुपर्यो । जसमा चर्च ब्वाईजले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा चर्च ब्वाईजका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २५ गतेको खेल थन्डरबोल्ट नर्थ युनाइटेड, भारत र संकटा फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।