News फराकिलो जितका साथ चर्च ब्वाईज फाइनलमा
गोलनेपाल

धरान । एकतर्फी जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी २५औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईजले पाहुना टोली आर.टि.सी. फुटबल क्लब, भुटानलाई ७–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

चर्च ब्वाईजको जितमा समिर तामाङ र अर्माण्ड बेडमले ह्याट्रिक गरे । थप एक गोल भने पदम भट्टराईले गरे । खेलमा चर्च ब्वाईज कै समिर तामाङ म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल न्युरोडटिम (एनआरटी), काठमाडौं र युनाइटेड खर्साङ्ग फुटबल क्लब, भारतबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।

Post Comments