News फिदिम भेट्रान्स गोल्डकप: उपाधिका लागि आयोजक र बिर्तामोड भिडने
गोलनेपाल

फिदिम । पॉचथरको फिदिममा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक फिदिम भेट्रान्स क्लब र रेड स्टार फुटबल क्लब बिर्तामोड झापा भिडने भएका छन ।

फिदिम मा.वि.को खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा दुधे भेट्रान्सलाई पेनाल्टि सुटआउटमा ३-१ गोलले पराजित गर्दै आयोजक फाईनल पुगेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको थियो ।

खेलको म्यान अफ दि म्याच फिदिम भेट्रान्स क्लबका गोल रक्षक रोशन श्रेष्ठ घोषित भए । उनले दुधे भेट्रान्सका दुइ पेनाल्टि सेभ गर्दै टिमलाई फाइनल पुर्याएका थिए ।

त्यस्तै शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा बौद्ध भेट्रान्स रानिटार पॉचथरलाई दुइका विरूद्ध तीन गोलले पराजित गर्दै बिर्तामोडले आयोजकसंगको उपाधि भिडन्त पक्का गरेको हो ।

रेड स्टारका लागि खेमराज पोख्रेलले दुई र अंगुर खड्गीले एक गोल गरे । रानिटारका लागि दिनेश गुरूङले दुइ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच रेड स्टार बिर्तामोडका बुद्ध चेम्जोङ घोषित भए ।

दुवै खेलका म्यान अफ दि म्याचले दुइ हजार दुइ सय रूपैया प्राप्त गरे ।

माघ ९ गते देखि फिदिम भेट्रान्स क्लबको आयोजनामा सुरू भएको गोल्डकपको फाइनल खेल माघ १२ गते शनिबार हुनेछ ।
विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ ।

Post Comments