News एभरेष्ट एकेडेमी र योङ स्टार क्वाटरफाइनलमा
गोलनेपाल

निजगढ । एभरेष्ट एकेडेमी र योङ स्टार युनाइटेड क्लब यहाँ जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

निजगढ स्थित बुद्धचोक फुटबल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एभरेष्टले निजगढ सिटी क्लबलाई ३–० ले हरायो । एभरेष्टको जितमा गौरव श्रेष्ठ, मोहित गुरुङ्ग र कृपा चौधरीले गोल गरे । खेलमा एभरेष्टका गौरव श्रेष्ठ म्यान अफ द म्याच समेत घोषित भए ।

दोस्रो खेलमा योङ स्टारले हेटौडा फुटबल एकेडेमीलाई समान ३–० को अन्तरले हरायो । योङ स्टारका लागि प्रशान्त लामा, सुदिप लामा र जोन लामाले गोल गरे । खेलको म्यान अफ द म्याच योङ स्टार कै सुदिप लामा घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ५ गते शनिबारको पहिलो खेल बिरगंज युनाइटेड र अल्तोकी क्लब बीच हुनेछ भने दोस्रो खेल बेनखडी युवा क्लब र हिमाल युवा क्लब बीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।

Post Comments