
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दैछन् ।
फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् ।
इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् । इलाम गोल्डकपमा एनआरटीले बाजी मारेको थियो भने चर्च ब्वाइजले उपविजेतामै चित्त बुझाएको थियो । एनआरटी ३-० गाेलअन्तरले दाेस्राेपटक इलाम गाेल्डकप च्याम्पियन बनेकाे हाे ।
प्रिम्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम कप्तान कमल श्रेष्ठ र प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गरेका छन् । बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको चोट बिर्सनेगरी खेल खेल्ने उनको भनाइ थियो ।
यस्तै, एनआरटीका कप्तान अञ्जन विष्ट र प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । आफ्नो टिम सन्तुलित रहेको र खेलाडीहरु युवा तथा एकताबद्ध रहेकाले बलियो रहेको प्रशिक्षक सिंकेमानाले बताए ।
प्रिम्याच कन्फ्रेन्समा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा कपका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ का अध्यक्ष गुरुङले जानकारी दिए ।