
तुुलसीपुर । संघर्षपुर्ण जितका साथ युएनबिसी, घोराही यहाँ जारी चौथो हिरा डाँगी स्मृति कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ युएनबिसीले ज्ञानज्योति क्लब, तुलसीपुरलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि अरनिको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने युएनबिसी सफल बन्यो ।
खेलमा युएनबिसीका गोलरक्षक सरिन जिसी रोहित चन्द फ्यान्स क्लबद्वारा प्रायोजित म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर ४ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल टरिगाउँ युवा क्लब, दाङ र सहारा क्लब, भारत बीच हुनेछ ।
हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर ८ गतेका दिन हुनेछ ।